जानकी आँखा अस्पतालमा सेवा सुरु
जनकपुरधाम :विवादका कारण केही दिनदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सेवा सुरु गरिएको छ । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह तथा राज्यमन्त्री केशव रायको समन्वयमा व्यवस्थापन पक्ष तथा आन्दोलनरत कर्मचारीसहित केही दिनदेखि भएको छलफल तथा बैठकपछि सेवा सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले जानकारी दिए ।
शनिबारको बैठकले अस्पतालमा देखिएका समस्या र विवाद समाधानका लागि सचिव डा यादवको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । यसअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आशिष् बोहराले नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री मनोज थापा तथा कानुनी सल्लाहकार मोहन पोखरेलसहित प्रदेश सरकारका मन्त्री सिंह सहितको बैठकबाट हाल देखिएका विवाद समाधान गरेर जाने सहमतिपछि सेवा सुरु भएको जानकारी दिए ।
पछिल्लो समय कर्मचारी हटाइएको, आर्थिक अनियमितता भएकोलगायत आरोप लगाउँदै एक पक्षले सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरिरहेको छ भने अस्पताल व्यवस्थापन पक्षले मेडिकल सुपरिटेन्डेन्टलगायत कर्मचारीमाथि हातपात गरिएको भन्दै सुरक्षाको कारण देखाएर केही दिनदेखि सेवा बन्द गरेको थियो ।