संकटमा सञ्चारकर्मीको संघर्ष: जोगियो नेपाल टेलिभिजन
अनिकालमा “बिऊ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु” भन्ने उखान सुन्दै हुर्केका हामी संचारकर्मीहरूको पेशा संकट, विपद् र हुलमुलमा अझै अग्रपंक्तिमा आएर काम गर्ने पेशा हो। जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, कार्यलयमा नियमित कार्य सम्पादनमा थिएँ। लगभग मध्यान्हपछि सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालयमा मैले र केही सहकर्मीले ठूलो त्रास अनुभव गर्यौं। वरपर कोलाहल र नाराबाजी बढ्दै थियो। देशको प्रमुख प्रशासनिक परिसरभित्र हामी सुरक्षित हुनेछौं भन्ने झिनो आशा त थियो, तर क्षण–क्षणमा दृश्य परिवर्तन भइरहेकाले वातावरण थप तनावपूर्ण र भयावह बन्दै गयो।
सिंहदरबारको पश्चिम र दक्षिण गेटबाट हजारौँ आन्दोलनकारीको होहल्ला सुनियो। त्यही समयमा सिंहदरबारको पूर्वी गेट नजिकै प्रदर्शनकारीहरूले नारा लगाउँदै टायर पनि बाल्न थाले। छिनभरमै पर्खाल वरिपरि कालो धुवाँको मुस्लो मडारिन थाल्यो। क्यामरा पर्सनले चलाएको ड्रोनबाट नजिकैको सडक विभाग, सर्वोच्च अदालत र स्वास्थ्य मन्त्रालयमा पनि आगो लागेको देखियो। हामी सबै भयभीत भयौं। यसअघि पनि हामी पत्रकारहरूले विपद् र संकटमा ज्यान जोखिममा राखेर काम गरिरहेका थियौं, तर त्यो दिनको विध्वंसात्मक परिस्थितिमा केवल आफैँलाई मात्र नभई कार्यालयलाई पनि बचाउनु थियो। म भिडबाट थपिने जोखिमले डराएँ, परिस्थिति भयावह बन्दै गयो। सहकर्मीहरूसँग सल्लाह गर्यौं। हजारौँको संख्यामा उत्तेजित भीडले पश्चिम र दक्षिण गेट फोडेर परिसरभित्र प्रवेश गरेको खबर आयो। परिसर अझ तनावग्रस्त भयो कालो धुँवाले आकाश भयो, आँखा रसाउन थाल्यो, घाँटी पोल्न थाले। देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारमा हुरहुरी बल्न थाल्यो। दुई दशकदेखिको मेरो स्नेह र सम्मान झस्कियो।
यसबीच सुरक्षा प्रहरीले बारम्बार नेपाल टेलिभिजनको गेट बन्द गरी भित्र बस्न सुझाव दियो। तर म सोचेँ सिंहदरबारको पर्खालले पनि जेन–जीको चरम आक्रोश रोकेन, हाम्रो गेटले कसरी रोक्ला? तुरुन्तै साथीहरूसँग सल्लाह गरी गेट खुला राख्ने र आन्दोलनकारीसँग संवाद गर्ने निर्णय गर्यौं। हामीले गेटमै बसेर उनीहरूसँग जम्काभेट गर्ने निधो गर्यौं। इतिहासले प्रमाणित गरेको छ, यस्ता आन्दोलनका बेला जोखिम मोलेर समाचार बोकेर हिड्ने पत्रकार आफैँ समाचार मात्रै होइनन्। त्यसैले आफ्नै कर्मथलो नेपाल टेलिभिजनलाई आगोबाट जोगाउनुपर्ने चिन्ता भावनात्मक संगै आंट पनि थियो।
“जिन्दावाद–मुर्दावाद” जस्ता नारासहित आक्रोशित आन्दोलनकारीहरू सिंहदरबारका दक्षिण, पश्चिम र पूर्वी गेटबाट नेपाल टेलिभिजनको गेटतिर आएका थिए। कसैको हातमा रगत थिए, कसैले फलामका रड जस्ता हतियार बोकेका थिए। आक्रोश, जलाउने र मार्ने नारा चर्को स्वरमा उठिरहेको थियो। भीड ‘सिंहदरबार हाम्रो हो’ भन्दै आगो लगाउने, केही मन्त्रालय र कार्यालय जलाउने र सवारी साधनहरू खरानी बनाउने दुष्प्रयास गरिरहेका थिए । उनीहरू हाम्रो अगाडि आएपछि हामी केही साथीहरू गेटमै उभिएर हात जोडेर अनुरोध गयौं, “यो संस्था जनताको आवाज बोल्ने संस्था हो, तपाईंहरूको आफ्नै टेलिभिजन हो, सार्वजनिक सेवा प्रसारण हो, कृपया यसलाई जोगाइदिनुहोस्।” सुझबुझका साथ प्रश्नको जवाफ दिने, उनीहरूको आक्रोश सुन्ने र तर्क प्रस्तुत गर्ने प्रयास करिब दुई घण्टा चलिरह्यो।
‘नेपाल टेलिभिजनको डाटा कहाँ छ?’ यो आन्दोलनकारीहरूको प्रमुख आक्रामक प्रश्नको रूपमा उठ्यो। मानौं उनीहरूको उद्देश्य डेटा नष्ट गर्नु नै थियो। हामीले सुझबुझपूर्वक जवाफ दिँदै अलमलाउने प्रयास ग¥यौं। चिच्याहटबीच हामीलाई कसले कति बुझे भन्ने थाहा छैन तर केहीले नेपाल टेलिभिजनमा आगो नलगाउने आश्वासन त दिइरहे । किन त्यो आश्वासन दियो, टेलिभिजनप्रति उनीहरुको विश्वासले, हाम्रो संवादले, वा अन्य कारणले त्यो प्रश्न खोज्न बाँकी छ।
.jpg)

यस्ता संकटका बेला केही समाचार, रिपोर्टिङहरू तोडमोड गरीने, ‘ब्रेकिङ’को होडबाजीमा भ्रम सिर्जना गरिने र घटनाको क्रेडिट पाउने लालसाले सत्यता मोडिने चुनौती पनि हुन्छ। हाम्रा मोबाइलले खिचेका दृश्यहरू, केही सहकर्मीद्वारा गरिएको लाइभ प्रसारणहरू र नेपाल टेलिभिजनको समाचारकक्षबाट प्रसारण भएका सामग्रीहरू आगामी दिनमा सत्यका दह्रो दस्तावेज बन्नेछन्। धुंवाँले हामीलाई घेरिसक्दा कोठामा बस्नै मुश्किल भयो। त्यस्तै अवस्थामा समाचारकक्षमा भने बढेको हिम्मत र जोखिमका बाबजुद काम जारी रह्यो। स्टुडियो बन्द गरियो र प्राविधिक, प्रशासनिक कर्मचारीहरूलाई सुरक्षित भइ घर जान सुझाव दिइयो। हुलमुल चरम अवस्थामा रहेकाले ज्यानमा खतरा थियो, तर कर्मथलो बचाउनुपर्ने मनस्थितिले सबैलाई अग्रसर बनायो।
बिस्तारै जुलुस पूर्वी गेटबाट बाहिर निस्किन थाल्यो। हामी सबैलाई मन थाकेको अनुभूति थियो, आँखा रसाएको, शरीर पोलिरहेको जस्तो थियो। त्यसै बिच केही ठूलो धमाका सुनियो। करिब ४ः०० बजे तिर साथीहरू पूर्वी गेट हुँदै कार्यालयबाहिर निस्किए। अन्ततः परिवार सम्झँदा मन फेरी भक्कानीयो र म पनि पैदल निस्किएँ। पूर्वी गेटको छेउमै अझै टायर बालेर हुटिंग भइरहेकै थियो। केही समयपछि फोन आयो, “एक समूह फेरी नेपाल टेलिभिजनमा पस्यो, कार्यालयको सामान तहसनहस भयो कम्प्युटर, ल्यापटप लिएर गए, केहि सवारीसाधनहरू तोडफोड भए तपाईंको गाडी पनि क्षति भयो।” केही बोल्न सकिनँ, फोन काटेपछि सोचेँ यस विध्वंसमा धन्य छौँ कि नेपाल टेलिभिजन खरानी हुनबाट जोगियो । संकटको समयमा सामुहिक प्रयास नै शक्ति रहेछ भन्ने अनुभूति भयो ।
(सापकोटा नेपाल टेलिभिजनकी कार्यक्रम महाशाखा प्रमुख हुन्)
Share on Twitter