यी हुन् नवनिर्वाचित १९ राष्ट्रियसभा सदस्य (मत परिणामसहित)
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित भएकी छन् ।
कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस्तै मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी कूल ७९२३ मतभार प्राप्त गरी विजयी हुँदा मधेश प्रदेशको अन्य समूहतर्फ काँग्रेसका आनन्दप्रसाद ढुंगाना कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ काँग्रेसकी बिष्णुदेवी पुडासैनी कूल ६६२२ मतभार, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का घनश्याम रिजाल कूल ६५१२ मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारीले कूल ६३८३ मतभार तथा अन्य समूहतर्फ काँग्रेसका जितजगं बस्नेत ६५३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा प्रदेशमा निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भए । अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए । महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् ।
अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे । यसैगरी लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ काँग्रेसकी विष्ण्कुमारी सापकोटा कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी लुम्विनी प्रदेशकै अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भए ।
राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन् ।
मल्ल एकीकृत समाजवादीकातर्फबाट, विक माओवादी केन्द्रकातर्फबाट र रोकाय नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका थिए । प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् । प्रतिद्धन्द्धी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन् ।
यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । प्रतिद्धन्द्धी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे । अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे । कर्णाली प्रदेशसभाका ४० मतदाता मध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन् । यस्तै राप्रपाका एक मतदाता छन् । राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो ।
स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन् ।गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिन्छ भने दलित र अन्यतर्फ गठबन्धनका एक÷एक जनाले एमाले उम्मेदवारलाई भोट दिएको देखिन्छ । यस्तै अन्यतर्फ प्रदेशसभाका एक सदस्यले गठबन्धनलाई भोट दिएको देखिन्छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फमाओवादी केन्द्रकी रेनु चन्द कूल ४४५३ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्नारेसका रायणदत्त भट्ट कूल ४४१९ मतभार तथा अन्य समूहतर्फका नेपाली काँग्रेसका बलदेव बोहरा कूल ४३२८ मतभार प्राप्त गरी निर्वाचित भए ।
निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको थियो । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका थिए। जसमध्ये कोसीमा कुल ३६७ मतदाता थिए भने मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका थिए ।
यसैगरी गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने व्यवस्था छ ।
निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ रहेको थियो । यसैगरी कायमा प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका थिए । नवनिर्वाचित १९ राष्ट्रियसभा सदस्यहरुले फागुन २० पछि आफ्नो काम थाल्नेछन् ।
Share on Twitter