राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै
काठमाडौं:आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । २ हजार ४७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आज नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको समय रहेको छ ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ ।
Share on Twitter