कांग्रेसको विमर्श सभा : रास्वपा सहितका नया दलले निम्तो पाएनन
काठमाडौ:राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ को अवसरमा नेपाली कांग्रेसले आज विमर्श सभा गर्दै छ । ‘संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप’ नाम दिइएको सभा दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा शुरु हुने कांग्रेसको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनको सम्झनामा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहनेछन्। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि धारणा राख्नेछन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतलाई भने निम्तो गरिएको छैन।२०१७ साल पुस १ गतेको शाही कुपछि जेलमा परे कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जेलमुक्त भएलगत्तै भारत निर्वासित भएका थिए ।
भारतमा आठ वर्ष बिताएपछि राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।
Share on Twitter