राजसंस्था सहितको हिन्दु राष्ट्रको पक्षमा राप्रपाले देशभर आन्दोलन गर्ने
काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले देशब्यापी आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समितिसहित चार वटा समिति गठन गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने छ । यस्तै पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।
यता पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरेको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले आवश्यक अनुसार अन्य समिति बनाउने पनि निर्णय गरेको छ ।यस्तै आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सहभागी हुन आग्रह गरेको छ । राप्रपाको पुस १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो ।


Share on Twitter