कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए
काठमाडौं:कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।
राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । राप्रपाका एक सांसद अनुपस्थित रहे । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।
एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
Share on Twitter