परराष्ट्रमन्त्री साउद २ सय ५४ जना नेपाली विद्यार्थी लिएर फर्किए
काठमाडौं:इजरायलमा अलपत्र परेका २ सय ५४ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट उनीहरुलाई आज बिहान काठमाण्डौ ल्याइएको हो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ हिजो इजरायल पुगेका थिए । काठमाण्डौ ओर्लिएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताए ।
मन्त्री साउदले इजरायलमा रहेका २ सय ६५ जना नेपाली विद्यार्थी र विभिन्न क्षेत्र र पेसामा कार्यरत झण्डै ४ हजार ५ सयमध्ये केही नेपाली द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेको बताए । त्यसमध्ये पहिलो चरणमा २ सय ५४ जनालाई नेपाल फर्काउन सफल भएको उनको भनाइ छ ।
मन्त्री साउदले ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको, ४ जना घाइते भएकोमा एक जनाको उपचारपछि नेपाल ल्याएको, एक जना अस्पतालबाट डिस्चार्ज भएको र दुई जना अस्पतालमा नै उपचाररत रहेको पनि जानकारी दिए ।
सम्पर्कविहीन विपीन जोशीको पनि खोजी कार्य भइरहेको र सरकारले आवश्यक समन्वयमा काम गरिरहेको मन्त्री साउदले बताए । नेपाली दूतावासले सुरक्षित ठाउँमा जान र नेपाल फर्कन चाहनेलाई अनलाइनमार्फत् आफ्नो विवरण उपलब्ध गराउन भनेको थियो । त्यसपछि ५ सय ५७ जनाले विवरण उपलब्ध गराएको र ५ सय ३ जनाले नेपाल फर्कन अनुरोध गरेका छन् । बाँकी रहेकालाई पनि छिट्टै नेपाल ल्याउन पहल भइरहेको सरकारले जनाएको छ ।
Share on Twitter