एमाले गण्डकी अधिवेशन : गुरुङ र अधिकारी समूहबीच प्रतिस्पर्धा
काठमाडौं:नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे पोखराको अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले गुटगत प्रतिस्पर्धा नगर्न भनेपनि प्रदेशमा दुई समुह प्रतिस्पर्धामा छन् । उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सार्ने तयारी गरेका छन् ।
अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको छ ।
अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने एमालेले जनाएको छ ।
Share on Twitter