अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति, यस्ताे छ ४ बुँदे सहमति
काठमाडौं:फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ ।
१९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति जुटेको हो । बुधबार अपराह्न ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्तापछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्नेछ ।
सहमतिसँगै राष्ट्रिय सभागृह अगाडि उभिएका ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेको छ । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।
यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ ।
समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ । यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा काठमाडौं महानगरबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयरका सचिवालयका धिरज जोशी र अभियानकर्ताका तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।

Share on Twitter