नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु
काठमाडौं:नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी रहेका छन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाएका छन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । ८७ जनाको केन्द्रिय कार्यसमिति रहने संघमा अबको अध्यक्ष को भन्ने बिषय अहिले चर्चामा छ ।
संघको स्थापनादेखि नेतृत्व गरिरहेका अब्दुल सत्तार नेपाली काँग्रेसको केन्द्रिय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष रहेका अताबुल मन्सुरलाई कार्यवहाकको जिम्मेवारी दिएका थिए । संघमा अबको नेतृत्वका लागि हाल पदाधिकारी रहेकाहरु नै कसरतमा छन् । जसमा कार्यवहाक अध्यक्ष अताबुल मन्सुर, बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्धिन, महासचिव मुख्तार आलम तथा सलावतदिन दिन मियाँको नाम चर्चामा छ ।
अहिलेसम्म औपचारिक घोषणा भने कसैले गरेका छैनन् । त्यस्तै उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्ष पदमा समेत हालसम्म कुनै उम्मेदवारले घोषणा गरेका छैनन ।


Share on Twitter