शिक्षा विधेयकविरुद्ध शिक्षकहरू माइतीघर मण्डलामा
काठमाडौं:विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा देशका विभिन्न ठाउँबाट शिक्षकहरु काठमाडौंमा आएका छन् ।
विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौंकाे माइतीघर मण्डलामा उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् । सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ ।
शिक्षकहरूको सडक आन्दोलनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।
दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि छ ।








Share on Twitter