सरकारले नेपाल शिक्षक महासंघलाई वार्तामा बाेलायाे
काठमाडौं:सरकारले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार जनाउदै विद्यालय बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन भनेको छ । विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ ।
मन्त्रालयले मंगलबार दिउसो ३ बजे मन्त्री अशोक राईको संयोजकत्वमा हुने वार्तामा आउन महासंघलाई आग्रह गरेको छ । ’नेपाल सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथाशक्य विधेयकमा समावेश गरिएको छ’, मन्त्रालयका सहसचिव भगवान् अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।’

Share on Twitter