प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरे ।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ ।
उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।




Share on Twitter