हावाहुरीबाट गाली गरेर आएकाहरू नेता जस्तो देखिए : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं:प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू नेता जस्तो देखिएको बताएका छन् ।
चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले देशप्रति कुनै चिन्ता र सरोकार नभएको, सबैभन्दा अराजक हावाहुरी देखिएको बताएका हुन् ।
“पछिल्लोसमय राजनीतिमा कुनै योगदान नभएको, देशप्रति कुनै चिन्ता र सरोकार नभएको, सबैभन्दा अराजक हावाहुरी देखिएको छ। जसले सबैभन्दा बढी गाली गर्न सक्यो, उ नै नेताजस्तो देखाइएको छ। अश्लिल, अराजक, कुनै योगदान र दृष्टिकोण नभएको शक्ति र प्रवृत्तिले समाज विशाक्त पार्दैछन्। सामाजिक सञ्जालमा हेर्नै नसकिने दृश्य, सुन्नै नसकिने गाली देखिन्छ, समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदैछ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा हो। तसर्थ हामी सचेत हुनुपर्छ। देशमा असल संस्कार, असल राजनीति र निष्ठा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो, अरूले गर्दैनन् र सक्दैनन्’ ।
यस्तै उनले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताए ।
Share on Twitter