नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास ब्यक्त गरेका छन् ।राजनीतिक दलका नेताहरुसंको छलफलमा चीन भ्रमणलाई फलदायी बनाउन गृहकार्य भइरहेको बताए ।
उनले भने “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ।” सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने पनि उनले बताए ।कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिए ।
छलफलमा सहभागि नेताहरूले छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुबै देशले एक–अर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायत सहभागि थिए ।
Share on Twitter