कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
काठमाडौं:सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोशी प्रदेशका प्रमुखका नाममा परमादेश जारी गरेको हो ।
आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् । त्यसक्रममा उनले कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थमा राखिराख्नु उचित नहुने भएकाले ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च पुगेका हुन् ।
Share on Twitter