नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा
कठमाडौं :नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भएको बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ । यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकार र गृहमन्त्रालयले लिनु पर्ने स्पष्ट छ । तर्सथ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौँ ।’
नेविसंघले आक्रमणमा परी घाइते भएका नेता महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । नेविसंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ। सहमहामन्त्री यादवमाथि बुधबार खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Share on Twitter