कहिल्यै नहारेका राधाकृष्ण कँडेल
काठमाडौं :नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।
विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। मत गणनाको सुरुवातदेखिनै अग्रता लिएका रिजाल अन्तिममा पराजित भएका हुन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् ।
उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।
महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् ।
मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व पहिलोपटक प्रतिनिधिहरुबाट चयन भएका छन् । मुलुक संघीय संरचनामा गएको ८ वर्षपछि प्रदेश संरचनाको नेतृत्व पहिलो पटक प्रतिनिधिहरुले चयन गरेका हुन् ।
यसलाई नेताहरुले सकारात्मक रुपमा लिएका छन् । यसअघि प्रदेश इन्चार्ज, अध्यक्ष र सदस्य समेत पार्टी केन्द्रबाटै मनोनीत हुँदै आएका थिए । तर लुम्बिनीबाट एमालेभित्रको लोकतन्त्रको सन्देश गएको नेताहरु बताउछन् । पार्टीको आन्तरिक प्रतिस्पर्धा वा संसदीय क्षेत्रमा सधैं बिजयी बनेका कंडेलको अपराजित यात्राले फेर निरन्तरता पाएको छ ।
को हुन् कँडेल
२०१९ सालमा पाल्पाको रामपुरमा जन्मिएका कँडेल २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । २०३६ मा नेकपा (माले ) गाउँ पार्टी सक्रिय दलको सदस्य बनेर औपचारिक रुपमा उनी रानीतिमा प्रवेस गरेका हुन् ।
त्यसलगतै २०३८ मा अनेरास्ववियुको पाल्पा जिल्ला सदस्य बनेर विद्यार्थी राजनीतिमा होमिएका थिए । त्यसको एक बर्ष पछि २०३९ मा उनी अनेरास्ववियु पाल्पा जिल्ला उपाध्यक्ष बनेका थिए । उनले उपाध्यक्ष भएपनि कार्यबहाक अध्यक्षको रुपमा एक बर्ष काम गरेका थिए । इमान्दार र स्वच्छ छवी भएका कँडेलको राजनीतिक उडान यतिमा मात्र सिमित भएन ।
२०४० मा अनेरास्ववियु लुम्बिनी अञ्चल सचिव बन्ने अवसर पाए । २०४२ मा नेकपा (माले ) गाउँ पार्टी सक्रिय दलको सचिव भए । यस्तै २०४५ मा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव भएर काम गरेको अनुभव पनि उनिसंग छ । २२ पुस २०४७ मा नेकपा (मार्क्सवादी)सँग एकीकरण भएपछि नेकपा एमाले बनेको थियो । त्यो बेला कँडेलले पाल्पा जिल्ला इलाका २ को सचिव भएर काम गरे । उनी २०५० मा नेकपा एमाले पाल्पा जिल्ला सदस्य भए भने २०५५ मा एमालेको जिल्ला उपसचिवको जिम्मेवारी पाए ।
उनि २०६० मा पार्टीको जिल्ला सचिव तथा जिल्ला प्रमुखको भुमिकामा रहेर काम गरे । मेहेनेती र पार्टी र जनताप्रति बफादार कँडेल २०६५ मा राष्ट्रिय परिषदको सदस्य समेत बनेका थिए । यस्तै २०६९ मा पार्टीको जिल्ला अध्यक्ष भएर काम गरेका थिए । उनको कामको मुल्याङकन गर्दै २०७० को संविधानसभा निर्वाचनमा पार्टीले उनलाई टिकट समेत दिएको थियो । उनलेपनि पार्टीले आफुप्रति गरेको विश्वास गुम्न दिएनन् ।
संविधान सभा निर्वाचनमा पाल्पा १ बाट निर्वाचित समेत बने । संविधान निर्माणका क्रममा संसदको लेखा समितिमा रहेर काम गरेको अनुभव पनि उनिसंग छ । २०७३ मा साबिक ५ नम्बर प्रदेशको पार्टी सचिवालय सदस्य बनेका उनि २०७८ पौष १ देखि लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्ष बनेका हुन् ।
३ असोज २०७२ मा संविधानसभाबाट संघीय संरचनासहितको संविधान जारी भएपछि विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको नेतृत्व लिएका थिए । त्यसबेला पौडेल एमाले उपमहासचिव थिए ।
२०७४ को चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओनसरी घर्तिमगर अध्यक्ष भइन् । घर्तिमगरसहित २०६ सदस्यीय प्रदेश कमिटी सदस्य केन्द्रबाट चयन भएका थिए ।
तर नेकपाको एकता तीन वर्षभित्रै टुट्यो । २३ फागुन २०७७ मा एमाले ब्युतिएपछि लिला गिरी लुम्बिनीको अध्यक्ष मनोनीत भए । गिरीले एक वर्ष पनि नेतृत्व गरेनन् । १०–१४ मंसिर २०७८ मा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट गिरी पोलिटब्यूरो सदस्य बनेपछि राधाकृष्ण कँडेल प्रदेश अध्यक्ष मनोनीत भए । उनी नेतृत्वको ५७६ सदस्यीय प्रदेश सदस्य पनि केन्द्रबाटै नियुक्त भएका थिए ।
तर केन्द्रबाट मनोनीत कमिटी र नेतृत्व प्रभावकारी नबनेको निष्कर्षसहित अधिवेशनबाट नेतृत्व चयन गर्ने एमालेले निर्णय लिँदा प्रतिनिधिहरुको मतका आधारमा पुनः राधाकृष्ण कँडेल अध्यक्ष बनेका छन् ।
हरि रिजाल र राधाकृष्ण कँडेल (दायाँ)
प्रतिनिधिहरुको मतका आधारमा नेतृत्व चयन हुनुलाई एमाले नेताहरुले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।
Share on Twitter