कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट आजपनि हेर्दाहेर्दैमा
काठमाडौं:कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्दाहेर्दैमा परेको छ । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।
विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ । मंगलबार बिहानदेखि सुरु भएको बहसमा खाजा समय अगाडि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, उपन्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेत, नेपाल सरकारका महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरेका थिए ।
उनीहरुले विश्वासको मत सम्बन्धमा मतदान हुँदा सभामुख र उपसभामुख दुवै नरहेको अवस्थामा बैठकमा उपस्थितमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेको र त्यसरी बैठकको अध्यक्षता गर्ने व्यक्ति सभामुख नरहेकै कारण दलको ह्वीपसमेत लाग्ने भएकाले संविधानको धारा १८८ बमोजिम विश्वासको मत दिन मिल्ने दाबी गरेका थिए ।
खाजा समयपछि प्रत्यर्थीको तर्फबाट पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खाती, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरु गोविन्द बन्दी, शेर बहादुर केसी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, मुक्ति प्रधान, गोपलाकृष्ण घिमिरे, सुनिल पोखरेल, एगराज पोखरेल, डा. चन्द्रकान्त ज्ञवाली, ललित बस्नेत र दीपेन्द्र झाले बहस गरेका थिए ।
न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी सुनुवाइमा यसअघि सोमबार निवेदकका तर्फबाट भएको बहसमा टीकाराम भट्टराई लगायतका कानुन व्यवसायीले समय सकिएको घण्टी बजिसकेपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भएको जिकिर लिएका थिए । त्यसपछि आज इजलासमा मतदानको दिनको भिडियो हेरिएको थियो ।
Share on Twitter