कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज पनि
काठमाडौं:कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ । हिजो रिट निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा.सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडाले बहस गरेका थिए ।
आज भने रिट निवेदकका विपक्षीहरूको तर्फबाट बहस हुनेछ । विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ । विपक्षीका तर्फबाट सरकारी वकिलहरूको अलावा वरिष्ठ हरिहर दाहाल, प्रेम बहादुर खड्का सुनिल पोख्रेल, विजय मिश्रा, गोविन्द बन्दी, शेरबहादुर केसी, मुक्ति प्रधान यदु खनाल, रमण श्रेष्ठ, खम्ब खाती, लगायतका कानुन व्यवसायीहरूले बहस गर्ने जनाइएको छ ।
मुख्यमन्त्री थापा विरुद्धको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदी रहेको पूर्ण इजलासमा परेको छ । भदौ ४ मुख्यमन्त्री थापाले प्रदेश सभाको बैठकमा अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदान गराएर ४७ पुर्याएर विश्वासको मत प्राप्त गरेका थिए ।
तर सभाध्यक्षले मत बराबरी भएको अवस्थामा बाहेक मत दिन नपाउने संवैधानिक व्यवस्था विपरीत मन्सुरीले मतदान गरेर मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको दाबी गर्दै एमालेका कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
Share on Twitter