‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु
काठमाडौं:नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका हुन् ।
रूपान्तरण अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको बताए । “परिवर्तन र क्रान्तिको नेतृत्व गरेको हाम्रो पार्टी इतिहासकै चुनौतीपूर्ण मोडमा पुगेको छ ।
यो अभियानले जनतासँगको पार्टीको सम्बन्ध बलियो बनाउने विश्वास गर्दछु,” उनले भने । यस्तै उनले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्ने दावी गरे ।
जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।
अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा,शहीदहरुको नाम राजपत्रमा प्रकाशन,लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको समेत बताए । प्रचण्डले समाजवादको आधार तयार पार्ने जिम्मेवारी समय र आवश्यकताले माओवादीलाई दिएको बताए । “युगले हाम्रो पार्टीलाई समाजवादको आधार तयार पार्ने जिम्मेवारी दिएको छ, हामीले बुझ्नुपर्छ । कमरेडहरू जो जहाँ पुग्नुभएको छ, त्यसैगरी जनतासँग सम्बन्ध बनाउनुस्,” प्रचण्डले भने ।
Share on Twitter