इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता
काठमाडौं : इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले पाँच विद्यार्थी संगठनसँग वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति गरेका हुन् ।
पाँच बुँदे सहमतिमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।
हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।

सहमतिपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता गर्ने हुने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।
शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।
Share on Twitter