कांग्रेस सहमहामन्त्री जीवन परियारले गरे संसदीय समिति सभापति अस्वीकार
काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सार्वजनिक सुनुवाइ समिति (संयुक्त) को सभापति अस्वीकार गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् ।
उनले आफू सभापति नबन्ने बताएका छन् । ‘म सुनुवाइ समितिको सभापति हुन्न’ उनले भने, ‘पार्टी नेतृत्वले अरुकै नाम पठाउनुहोला ।’ कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए ।
तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिए । देउवाले प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दिन नमानेपछि त्यसको प्रतिक्रिया स्वरुपमा परियारले सभापति बहिष्कार गरेका हुन् ।
Share on Twitter