दश समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनमा ११ जनाको उम्मेदवारी परेको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान र रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ ।
सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिको सभापतिमा किरणकुमार साहले उम्मेदवारी दिएका हुन्। पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी छन्। कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा मा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन्।
पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्। समिति सभापतिहरुको मतदान भोलि हुँदैछ । भोलि दिउँसो ३ बजे मतदान हुने बताइएको छ । १० मध्ये ९ वटा समितिमा एकल उम्मेदवारी परेकाले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि मात्र मतदान हुने जनाइएको छ ।
Share on Twitter