इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा नेविसंघको प्रदर्शन
काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेपछि शुल्क वृद्धि फिर्ताको माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
आइतबार बिहान १० बजे नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लाकार्डसहित नाराबाजी गर्दै बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्। निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चित र रिसर्चको व्यवस्था गर्नुपर्ने। साथै विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा सिएसआर को माध्यमबाट सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।
आइओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारवाट बढाएर ७ लाख ७५ हजार पुयाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरु अनसनमा समेत बसेका छन् ।







Share on Twitter