सुन तस्करीको छानबिन उच्चस्तरीय समिति बनाउन दलहरुबीच सहमति
काठमाडौं :सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय दलहरु सहमत भएका छन् । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो ।
सहमति भएपनि सहमति पत्रमा भने मंगलबार हस्ताक्षर हुनेछ । छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ । मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई भोलि ११ बजेसम्म समय दिइएको छ ।
उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् । एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गर्नेछ । भोलि २ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको जनाइएको छ ।
उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो । एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ ।
Share on Twitter