स्वास्थ्यकर्मी र चिकित्सकलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्षको उमेर हद कायम गर्न चिकित्सक संघको माग
काठमाडौ:चिकित्सहरुलाई सरकारी सेवामा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए अनुसार ४५ बर्ष कायम हुनुपर्ने संघको माग छ ।
विभिन्न प्रदेशहरुले गरेको विज्ञापनमा स्वास्थ्य सेवा ऐन २०५३ विपरितको उमेरहद कामय गरेकाले तत्काल विज्ञापन सच्याउन संघले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
’हालै स्वास्थ्य सेवालाई समेत निजामति सेवामा समावेश गराउने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम अर्थात ४५ वर्षसम्म कायम हुनु पर्ने प्रावधान विपरित विभिन्न प्रदेश लोक सेवा आयोगबाट दरखास्त आवहान गरिएको छ,’ संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’यसले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरूत्साहित गराएको तथा स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित साथै अवैज्ञानिक रूपमा उमेरको हद कायम गरिएको हुनाले देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न माग गर्दछ।’
आगामी दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम गर्ने व्यवस्था मिलाउनपनि संघले आग्रह गरेको छ । साथै मधेश प्रदेशबाट गरिएको विज्ञापनमा उमेरहद सच्याउन पनि संघले भनेको छ । संघको आग्रहलाई वेवास्था गरे कडा कदम चाल्नेपनि विज्ञप्तिमा भनिएको छ ।

Share on Twitter