कांग्रेस सांसद चन्द्र भण्डारी कीर्तिपुर अस्पतालमा भर्ना
काठमाडौं :नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी कीर्तिपुर अस्पतालमा भर्ना भएका छन् । फलोअप तथा उपचारका लागि पुन: अस्पताल भर्ना भएको जनाइएको छ ।
उनले आज बिहान सामाजिक संजाल फेसबुक मार्फत आफू फलोअप तथा उपचारका लागि पुन: अस्पताल भर्ना भएको जानकारी गराएका हुन् । आज विहानै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ, इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।”
भण्डारीको भारतमा लामो उपचार भएपनि हात तथा खुट्टाको समस्या पूर्ण ठिक भइसकेको छैन् । कीर्तिपुर अस्पतालमा उनको पुन शल्यक्रिया हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । गत ३ फागुनमा घरकै भान्सा कोठामा ग्याँस लिक हुँदा भएको आगलागीमा भण्डारी घाइते भएका थिए ।
उनको भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टर उपचार भएको थियो । त्यहाँ उपचार गराएर १७ बैशाखमा उनी स्वदेश फर्किएका थिए । उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
Share on Twitter