मेडिकल काउन्सिलको लापरवाही, निर्दोष डाक्टर जेलमा परे
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चलाएको ‘फोक्सट्रोट चार्ली’ अन्तरगत सक्कली चिकित्सलाई पक्राउ गरेपछि प्रहरीको आलोचना सुरु भएको छ । प्रहरीले अनुसन्धानविनै सक्कली चिकित्सक पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ ।
महोत्तरी जिल्लाको पिपरा–८ बस्ने विश्वनाथ यादवका छोरा वर्ष ३२ को रंजित कुमार यादवलाई साउन २५ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका, लोकन्थलीबाट कानुन बमोजिम जरुरी पक्राउ पुर्जी दिई सीआईबीले पक्राउ गरेको थियो ।
उनलाई अदालतले म्याद थप गरेर अनुसन्धान गर्न अनुमतिपनि दिएको थियो । सीआईबीले जनाए अनुसार देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको विवरण माग गरिएकोमा मेडिकल काउन्सिलले विश्वनाथ यादवका छोरा रंजित कुमार यादवको विवरण पठाएका कारण निर्दोष व्यक्ति पक्राउ परेका हुन् ।
आफ्नो आजीवन सदस्य डा यादवलाई पक्राउ गरि मानमर्दन गर्दै न्यूनतम मानव अधिकारको हनन् गरिएको भन्दै चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न माग गरेको छ।
Share on Twitter