कांग्रेस सांसद सुनील शर्मा थुनामुक्त
काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले बताए । इजलासले सुनील शर्मा भागी जाने सम्भावना नदेखिएको र निजले प्रमाण लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत नरहेको कारण देखाएर उनलाई रिहा गर्ने आदेश दिएको हो ।
अदालतको आदेशमा सुनील शर्माको हकमा २०७९ साउन ५ मा केन्द्रीय अनुसन्धान ब्युरोलाई निजको शैक्षिक योग्यताको बारेमा राष्ट्रिय परीक्षा बोर्डले पत्राचार गरेकोमा एक वर्षको अवधिमा कुनै अनुसन्धान प्रक्रिया नै अगाडि नबढाएकोसमेत जिकिर गरिएको छ ।
शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
Share on Twitter