खिरमा नुवाकोटे काङ्ग्रेसको गुट राजनीति : विकल्प खोज्ने डबलीमा
काठमाडौ : नेपाली कांग्रेस नुवाकोट साना साना चाडपर्व, भेटघाटको बहानामा नेताहरुले संगठनभित्र आफ्नो गुटको विस्तार गर्दै आउने प्रचलन भएको पार्टी हो । हरेक वर्षझै यो पटक पनि असारको दही चिउरा, साउनको खिर, दर, कोजाग्रत पूर्णिमा चियापान आदि मनाउने क्रममा गुटगत शक्ति प्रदर्शनमा व्यस्त छन् नुवाकोटका काङ्ग्रेस नेतागण ।
नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वर नरसिंह केसीले काठमाडौँ सामाखुसीमा रहेको आफ्नै घरमा खिर कार्यक्रम गरे । काठमाडौँमा बसोबास गर्ने र पार्टीका स्थानीय नेताहरु, वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुननरसिङ केसी, प्रदीप पौडेल लगायका नेताहरु उपस्थित भए ।
पार्टीभित्र खिर खाने नाममा गुट राजनीति थालिएको आरोप लागेपछि उनले विपक्षी दलका नेताहरूलाई समेत निमन्त्रणा गरेर आफूले सबै पक्षलाई समन्वय गर्न सक्ने सङ्केत खिर कार्यक्रम मार्फत दिए । कार्यक्रममा माओवादी नेता हितबहादुर तामाङ, बिमला सुवेदी, राधिका तामाङ, एमाले नेता महेन्द्र पाण्डे पूर्वअर्थमन्त्री डा। रामशरण महतलगायत नेताहरु सहभागी थिए ।

उता नुवाकोट काङ्ग्रेस निर्वाचन क्षेत्र न १ ले पार्टी सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा काठमाडौँको बसुन्धारामा खिर कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला पार्टी सभापति रमेश महत, अर्थमन्त्री डा. प्रकाशशरण महत, प्रदेश आर्थिक योजनामन्त्री बहादुरसिंह लामा लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । यो कार्यक्रममा सरकारमा हालीमुहाली गर्ने पक्ष र संस्थापन पक्षका कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

दुई गुटको विकल्प खोज्ने कार्यकर्ता डबलीमा
महत र केशी दुवै समूहले राजधानीमा कार्यक्रम गरेपछि एउटा समूह भने खिर खान गाउँ पसेको छ । राजधानी काठमाडौँमा भएका यी दुई खिर कार्यक्रमलाई साहसपूर्वक हापेर एकाथरी नुवाकोटे कांग्रेस नेता कार्यकर्ता भने झिल्टुङको प्राचीन डबलीमा जनताको बिचमा खिर कार्यक्रम गरेर फरक सन्देश प्रवाह गर्ने प्रयास गरे । भोट माग्न र नेता बन्न मात्र काठमाडौँबाट ताँती लागेर जिल्ला आउने नेतादेखि हैरान गाउँले काङ्ग्रेस कार्यकर्ता खिर खान गाउँ छिरेका कांग्रेदेखि खुसी भए र उत्साहपूर्वक कार्यक्रममा सहभागी भए ।

सबैको कांग्रैस : सधैँको कांग्रेस अभियान सञ्चालन गरेका जागरुक युवाहरुले गाउँमा पुगेर खिर कार्यक्रम मनाएर काङ्ग्रेसको गुट राजनीतिमा नयाँ सन्देश दिए ।
कांग्रेसका पूर्व जिल्ला सहसचिव तथा महाधिवेशन प्रतिनिधि दीपक लामाको नेतृत्वमा बेलकोटगढी वडा नं ५, दुइपिपल झिल्टुङ डबलीमा भेला हुनेमा नुवाकोट २ नं क्षेत्रीय सभापति जगत तामाङ, महासमिति सदस्य गीता अमात्य, महाधिवेसन प्रतिनिधि तथा तरुण दल नेता जयराम दाहाल, क्षेत्रीय सचिव नमराज पाण्डे, प्रदेश सचिव अच्युत रिजाल, प्रदेश सदस्य उत्तम ढकाल नगर सहसचिव अर्जुन दाहाल, नेविसंघ केन्द्रीय नेता कमल तिमल्सिना, बेलकोटगढी वडा नं ५ र ६ का पार्टी सभापति, नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष रबिन दाहाल लगायत नेता कार्यकर्ता थिए ।
निर्वाचनपछि गाउँ नफर्किएका काङ्ग्रेस नेताहरु खिर कार्यक्रम लिएर उपस्थित हुँदा स्थानीयहरु उत्साहित थिए । कांग्रेस पुर्वसभापति जगदिस्वर नरसिंह केसीको क्रियाशिल सदस्य रहेको बेनपा ९५ मा महत पक्षधर जिल्ला सहसचिव यादव नेपालको समेत गाउँ हो । एकै उपस्थितिले दुवै पक्षलाई एकै दनक लगाउने दाउमा डबलीमा खिर कार्यक्रम गरेर राजनीतिक सन्देश दिन खोजेको प्रष्ट छ । कार्यक्रमपछि सहसचिव नेपालले बसुन्धारा र डबलीको तस्बिर जोडेर शुभकामना दिए भने केसी पक्षले मुख खोलेको छैन ।
Share on Twitter