कोशीमा उद्धव थापा नेतृत्वको सरकार गठन असंवैधानिक ठहर
काठमाडौं: कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उद्धव थापा नेतृत्वको सरकार गठन असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि परमादेश दिएको हो ।
बिहीबार न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले साउन १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्ति भइसक्ने गरी प्रक्रिया अघि बढाउन पनि परमादेश जारी गरेको छ । थापालाई मुख्यमन्त्री बनाउन कोशी प्रदेशका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको थियो । मुख्यमन्त्री नियुक्ति प्रक्रियामा सभामुख गौतमको हस्ताक्षर प्रयोग गर्नु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।
प्रस्ट बहुमत नभएका कारण यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री बन्नका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी आफ्नो पक्षमा ४७ सांसदको समर्थन देखाएका थिए । कोशी प्रदेशसभामा एमाले र राप्रपाबीच तालमेल देखिन्छ । यी दुई दलसँग ४६ सांसद छन् । अर्कोतिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनसँग पनि जम्मा ४६ सांसदमात्र छन् ।
अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ । त्यसैले सुरुवातमा फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।
Share on Twitter