भाग्यमानी नेतृ सीतादेवी देवकोटा
काठमाडौं: नेपाली कांग्रेसकी नेतृ सीतादेवी देवकोटा पाण्डेले जनता शिक्षित र सचेत भए मात्रै मुलुकको विकास हुने मान्यता राख्छिन्। शिक्षित नागरिकले मात्रै राम्रो जनप्रतिनिधि छान्न सक्ने हुँदा शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड छ। खराब प्रतिनिधिले जनताको पक्षमा कानुन बनाउन नसक्ने भन्दै शुद्ध रूपमा समाजसेवा गर्ने व्यक्तिले मात्रै राजनीति गर्नुपर्ने उनको धारणा छ।
शुद्ध राजनीति र समाजसेवा गर्ने व्यक्तिलाई पछाडि पारेर व्यापारी राजनीतिमा अघि बढ्नु विडम्बना भएको उनी बताउँछिन्। उनले भनिन्,हालसम्म शिक्षा र स्वास्थ्यमा व्यापक खर्च हुँदा पनि जनता सचेत हुन नसक्नु दुखद हो। शिक्षा साक्षर मात्रै भएछ। प्राविधिक शिक्षा त भएन, जनता जता पनि बहकिएका छन्। जनतालाई शिक्षित र क्षमतावान कसरी बनाउने भन्ने अहिलेको आवश्यकता हो।’
विक्रम संवत् २०२६ सालमा स्याङजाको चापाकोटमा मध्यम परिवारमा नेतृ पाण्डेको जन्म भएको हो। उनले २०४४ सालमा स्थानीय गङ्गालाल माविबाट एसएलसी पास गरेकी हुन्। पढाइमा अब्बल थिइन्।
ऐच्छिक विषय गणित लिएर पढ्ने एक मात्र रहेकी उनलाई स्कुलले परीक्षा दिलाउन नसक्ने अवस्था आएपछि अर्थशास्त्र विषयको परीक्षा दिन बाध्य भएकी थिइन्।
जन्मेको डेढ वर्षमै उनको दाजुको निधन भएको भएको थियो।
उनी घर र मामाघरमा बसेर हुर्किएकी हुन्। उनका मामा प्रधानपञ्च थिए। उनको बुबाले फलफूल खेती गरेको कारण उनको गाउँको नाम नै फूलबारी भएको सीता स्मरण गर्छिन्। सानैदेखि बुबासँग निकै पछि लाग्ने गर्थिन्। बुवासँगै चोया काढ्ने, नाम्लो बुन्ने,दाम्लो बाट्ने, जनै बाट्ने गरेको बताउँछिन्। उनी भन्छिन्,‘आमाले छोराको मृत्युको चोटमा मलाई छुट दिनुभयो। छोरीले स्कुल पढ्न नपाउने समयमा आमाले सहज वातावरण बनाइंदिदा स्कुल पढ्न पाएँ।
आमाले मलाई स्कुल पठाउन निकै मेहनत गर्नुपरेको थियो।’ सानो बुवाको छोरा र आफ्नो दाजुहरूको पछि लागेर ३६ सालमा लागेर निर्दलको विरोध गर्दै बहुदलको प्रचार गर्न हिँडेको उनको भनाइ छ। उनले स्मरण गरिन्,‘घरमा प्यारी थिएँ हप्काई दप्काई थिएन। त्यही कारणले पनि मलाई राजनीति गर्न सजिलो भयो। दाजुहरूको सङ्गतले ‘नोयो’ उपन्यास पढ्ने मौका पाएँ जसमा चिनियाँ कम्युनिस्टको राम्रो व्याख्या गरिएको छ।
दाजुहरू कम्युनिस्ट थिए। तर नोयो पढेपछि म कांग्रेसमा लागेँ।’ एसएलसी दिएपछि २०४४ सालमा उनको विवाह भयो। कांग्रेस पृष्ठभूमिकै परिवारमा विवाह भएको र श्रीमान् पनि कांग्रेसकै राजनीतिमा सक्रिय भएको कारण उनलाई राजनीतिमा टिक्न सहज भयो।
एसएलसीपछि बागबजारस्थित पद्मकन्या क्याम्पसमा विज्ञान सङ्काय भर्ना गरे पनि राजनीतिक गतिविधिमा सक्रिय हुने क्रममा बुटवल पुगेकोले पढाई पनि उतै बाट अघि बढाइन्। बुटवल बहुमुखी क्याम्पसमा आइए भर्ना गरिन्।
उनी केही समयपछि अध्ययनको लागि फेरि काठमाडौं फर्किइन्। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेकी छन् भने पोलिटिकल साइन्समा स्नातकोत्तर र बागबजारस्थित ल क्याम्पसबाट एलएलबी गरेकी छन्।
राजनीतिसँगै पत्रकारिता र व्यापार पनि
राजनीति गर्ने व्यक्ति आर्थिक मामिलामा पारदर्शी हुनुपर्नेमा उनी दृढ छिन्। एक कप चिया पनि कसैले दिएको खान मन नलाग्ने उनको भनाइ छ। राजनीतिका सुरुवाती दिनमा (२०५०) सालतिर गोरखापत्र पत्रिकामा काम गर्थिन्।
उनले लामो समय रेडियो नेपालमा पनि काम गरेकी थिइन्। एनपिआईमा पढेर रेडियो नेपालमा रेडियो पत्रकारिता सिक्न जाँदा तत्कालीन सञ्चार मन्त्री महन्थ ठाकुरले उनलाई नियुक्त गरिदिएका थिए। काम गर्दै राजनीति गर्दा आर्थिक पक्ष पनि बलियो बन्दै गएको उनी बताउँछिन्।
२०४९ सालदेखि नै एनजिओ पनि चलाउँदै आएकी छन्। छोटेपन उन्मुलन समाज नाम एनजिओ मार्फत सुआहारा लगायत विभिन्न कार्यक्रम हरू हुँदै आएका हुन्। नवलपरासी र पाल्पा केन्द्रित भएर काम हुने गरेको उनको भनाइ छ।

लामो समय ग्रास रुटमा खटिएर काम गरेको संस्था हो भने उक्त संस्थाकी संस्थापक नेतृ पाण्डे हुन्। यो बाहेक उनले व्यापार व्यवसाय पनि गर्दै आएकी छन्। उनी राजनीति गर्ने व्यक्ति आर्थिक रूपमा बलियो बन्न सके भ्रष्टाचार कम हुने तर्क गर्छिन्।
किसुनजीसँग जोडिएकी भाग्यमानी नेतृ
उनी फरक क्षमता भएकै कारण कांग्रेसका संस्थापक, पूर्व प्रधानमन्त्री एवं त्यागी नेताको उपमा पाएका कृष्णप्रसाद भट्टराई (किसुनजीसँग)जोडिएर काम गर्ने र सिक्ने मौका पाएकी नेतृ हुन्। २०४४ सालमा एसएलसी दिएर काठमाडौं आएपछि किसुनजीसँग जोडिन पाएकी हुन्।

उनको सानो बुवा (आमा तर्फको नाता) पार्टी कार्यालयमा काम गर्थे। सानो बुबाको माध्यमबाट उनले किसुनजीको सचिवालयमा बसेर काम गर्ने मौका पाएकी हुन्। किसुनजी सँग भेट भयो। त्यति वेला कांग्रेसको पार्टी कार्यालय जमलमा थियो।
उनकी छोरी पनि कांग्रेस निकट नेविसंघमा सक्रिय छन्। दुई छोरी मध्ये जेठी छोरी समीक्षा पाण्डे नेपाल भारत विद्यार्थी सङ्घको सहमहामन्त्री छन्। उनले छोरीलाई पनि ग्रास रुटबाट प्रजातन्त्रलाई जोगाउनुपर्ने शिक्षा दिएकी छन्।

उनले अमेरिका, बेलायत, युएई, बहराइन, सिंगापुर, मलेसिया, थाइल्यान्ड, बंगलादेशसहित दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गरेकी छन्।
Share on Twitter