एनआरएनए अस्ट्रेलिया को अध्यक्षमा डिला खरेलको उम्मेदवारी किन ?
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले दौडधुप गरिरहेका छन् । मतदाता भेटगर्दै आफ्ना योजना सुनाउन उम्मेदवारहरुलाई भ्याइ नभ्याइ छ । जुलाई २९ मा हुने निर्वाचनमा अध्यक्ष पदकालागि तीन जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा डिलाराम खरेल , अनिल पोख्रेल र देव बहादुर गुरुङको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी डिला खरेल अहिले मतदाता भेटद्दाटमा ब्यस्त छन् । निस्वार्थ सेवा, समुदायमा एकता साझा एनआरएनए मेरो प्रतिबद्धता भन्ने नारासहित मतदातालाई एजेन्डा सुनाइरहेका छन् । संघको नेतृत्व हासिल गरेमा काठमाडौं उपत्यका भित्र उपयुक्त स्थानमा ‘अस्ट्रेलिया पार्क’ बनाउने घोषणा समेत गरेका छन् ।
एनआरएनहरुसँग मातृभूमिले पनि आशा गरेको बताउँदै उनले अस्ट्रेलियामा सिकेका ज्ञान, सिप र अनुभव उपयोग गरी नेपालमा सहयोग गर्ने वातावरण बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
को हुन् डिला
चितवनको साविकको नारायणपुर गाविसमा जन्मेका डिला सन् २००६ मा अस्ट्रेलिया पुगेका हुन् । विद्यालय तहदेखि उच्च शिक्षा चितवनमा पढेका थिए । त्यसपछि सम्भावनाको खोजि गर्दै काठमाडौं हानिएका डिलालाई काठमाडौंलेपनि रोक्न सकेन ।
स्वदेशमै केही गर्नुपर्छ भन्ने परिवारको मान्यता तोड्दै उनी सन् २००६मा अस्ट्रेलीया पुगेका हुन् । अध्ययनशील डिलाले लेखा, वित्त, कर लगायतका विषयमा डिप्लोमा गरेका छन् । हाल उनी अष्ट्रेलियाको ‘मोर्टगेज एण्ड फाइनान्स एशोसिएसन’ का दर्तावाल प्रशिक्षक हुन् भने त्यहाँका विभिन्न कलेजमा लेखा तथा वित्त विषयमा अध्यापन पनि गर्दै आइरहेका छन् ।
अध्ययनकै क्रममा त्यहाँको पीआरका लागि आवेदन गरेका उनको आवेदन स्वीकृत भयो । पीआर पनि पाए ।त्यसपछि सन् २०११मा आफैले कम्पनि खोलेर काम गरिरहेका छन् । लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको यो कम्पनीका प्रमुख डिला खरेल हुन् । सिड्नीमा प्रधान कार्यालय रहेको पन्ध्र जना संलग्न यो कम्पनीले चार राज्यमा शाखा विस्तार गरेको छ ।
त्यही क्रममा एनआरएनमा जोडिएर विभिन्न जिम्मेवारीपनि पुरा गरेका छन् । कहिले पदमा रहेर जिम्मेवारी सम्हाले भने कहिले पदबाहिर रहेरपनि संस्थाको गरिमा बढाउन क्रियासिल डिलाले यो पटक उध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । सन् २०१५–२०१७ को कार्यकालका लागि कोषाध्यक्ष छानिए । वाणिज्य तथा व्यवस्थापन शास्त्रका विद्यार्थी डिलाले संस्थाको आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखे ।
सन् २००५ मा अष्ट्रेलियामा एनआरएनए स्थापना हुँदा यो संस्था न्यू साउथ वेल्स राज्यमा मात्रै दर्ता थियो । उनी कोषाध्यक्ष हुँदा नै यसलाई केन्द्रीय सरकारको निकायमा दर्ता गर्नुपर्छ भन्ने पहल थाले ।
अहिले त्यो पहलले पूर्णता पाएको छ । सन् २०१९–२०२१ कार्यकालका लागि उनी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए तर चुनावी परिणाम उनको पक्षमा आएन । तै पनि उनी एनआरएन अभियानमा सक्रिय नै छन् । एनआरएनए आइसीसीले गठन गरेको ‘इन्भेष्टमेन्ट एण्ड ट्रेड प्रमोसन’ समितिमा उनले ओसियाना क्षेत्रको उपाध्यक्ष भएर काम गरे ।
सन् २०२३–२०२५ कार्यकालका लागि यही जुलाईमा नयाँ नेतृत्व चयन हुँदैछ । विगतमा गरेका कामको जगमा नयाँ अजेण्डा तय गरी उनी चुनावी अभियानमा लागेका छन् ।
खरेलका योजना
१७ वर्ष लामो अष्ट्रेलिया बसाइका भोगाइ, संस्थामा रहेर गरेका कामका आधारमा बटुलेको अनुभव र नयाँ योजनासहित डिला खरेल नेतृत्व लिने अभियानमा जुटेका हुन् । भोगाइ र अनुभवले उनमा आत्मविश्वास मात्रै बढेको छैन, उनले नयाँ सम्भावना पनि देखेका छन् ।
रेमिटेन्स र पर्यटनबाट नेपालको अर्थतन्त्र चलिरहेको विषयबारे आफू जानकार रहेको बताउँदै नेपाल सरकारसँग एनआरएनए अस्ट्रेलियाले ‘टाइ–अप’ गरेर काम गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । नेपाल सरकार, अस्ट्रेलियन दूतावास तथा अन्य मनमिल्ने सङ्घसंस्थाहरूसँगको सहकार्यमा काठमाडौं उपत्यकाभित्र एउटा अस्ट्रेलिया पार्क निर्माण गर्ने र दुई देशबिचको सम्बन्धको स्मारकको रुपमा उक्त पार्कले अस्ट्रेलियाको जनजीवन दर्शाउने उनले बताए।
उनले भने ‘एनआरएनए एनसीसी अस्ट्रेलियाको सन् २०२३–२०२५ अवधिका निम्ति अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यदि निर्वाचित भएँ भने एनसीसी अस्ट्रेलियाका साथीहरूसँग मिलेर अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागिः नेपाली विद्यार्थीहरूको पढाइलाई सहयोगी हुने एक हाते पुस्तक प्रकाशन गर्नेछौँ । जसले उहांहरूलाई कामको खोजी तथा अस्ट्रेलियाको जीवनशैली तथा अवसरबारे पनि ज्ञान दिनेछ। रोजगारी, व्यक्तिगत तथा पेशागत विकास जस्ता विषयहरूमा पनि एनसीसी अस्ट्रेलियाले प्रशिक्षण दिनेछ ।’
यसैगरी नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न ‘युवाका निम्ति एक कोष’ कार्यक्रम ल्याउने र ‘आइडिया ब्याङ्किङ’ को अवधारणा अघि बढाउने योजना पनि उनले सुनाए । उनले भने ‘एनसीसी अस्ट्रेलियाले एक लाख अस्ट्रेलियन डलरको कोष सङ्कलन गर्नेछ। वित्तीय तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्व हरू सामेल भएको एक टोलीले छानिएका उद्यमीहरूका निम्ति कानुनी, लेखासम्बन्धी तथा अन्य आवश्यक परामर्श दिनेछ।
साथै ‘युवाका निम्ति एक कोष’ मार्फत प्रारम्भिक पूँजी सहयोग पनि उपलब्ध गराउने छौं ।’ उम्मेदवार खरेलले अस्ट्रेलियामा आफ्नो परिवार भेट्न आएका अभिभावकहरूको निःशुल्क स्वास्थ्य जाँच सेवा आयोजना गर्ने पनि बताए। ‘नेपाली डाक्टर, खेलाडी, कलाकार तथा अन्य प्रतिभाशाली व्यक्तित्वहरूको ब्रान्डिङ् गरेर उनीहरूलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा परिचित गराइनेछ। अस्ट्रेलियामा बसिरहेका नेपालीहरू कानुन मान्ने, कर तिर्ने, इमानदार, लगनशील तथा व्यावसायिक समुदायका सदस्य हुन् भन्ने व्यापक छवि निर्माण गरिनेछ। अस्ट्रेलियामा विभिन्न क्षेत्रमा सफल नेपाली व्यक्तित्वहरूको सूची बनाएर वहाँहरूको प्रतिभा, विज्ञता एवं सञ्जालको उपयोग नेपाल तथा नेपाली समुदायको हितका निम्ति गर्न प्रोत्साहन गर्ने छु ।’ खरेलले भने ।
नागरिकता ऐन कार्यान्वयनमा आए पछि पनि अझैं यसमा समस्या रहेको स्वीकार गर्दै खरेलले नेपाली नागरिकताको निरन्तरताका लागि आफुले थप पहल गर्ने पनि बताए ।
Share on Twitter