लोक रिज्याइँका कारण राजनीति नाजुक अवस्थामा :डा.शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकरिज्याइँको राजनीति क्षणिक हुने बताएका छन् । लाओस राईद्वारा लिखित पुस्तक ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ विहीबार ललितपुरमा लोकार्पण गर्दै डा.कोइरालाले लोक रिज्याइँका कुरा ठाँटेर आफू चर्चित बन्ने प्रबृत्ति क्षणिक हुने बताएका हुन् ।
डा। कोइरालाले भने,‘लोक रिज्याइँका कुराले गर्नेहरु अल्पमतमा पर्ने गरेको साथै प्रश्तुत गर्ने शैली भविष्यका लागि घातक हुनेछ,’ उनले अगाडि भने,‘अहिले नेपालको राजनीति लोक रिज्याइँका कारण नाजुक अवस्थामा पुगेको साथै आर्थिक, सामाजिक, आर्थिक क्षेत्रमा त्यसको प्रभाव परेका कारण लोकतन्त्रमा विश्वास गर्नेहरुलाई समस्या उत्पन्न भएको छ ।’
राष्ट्रवाद र राष्ट्रप्रेमका सन्दर्भ जोड्दै डा.कोइरालाले बीपी काइरालाले व्याख्या गर्नु भएजस्तै राष्ट्रियता भनेको भुगोल, जाति, भाषा, लिङ मात्र होइन त्यसैले राष्ट्रियतालाई संकिणतामा सिमित गर्नु नहुने बताए ।
फरक प्रसंगमा डा.कोइरालाले पछिल्लो समय नेपालमा अदालतले निर्णय गरेका मुद्दालाई राजनीतिक मुद्दा बनाएर छुट दिनेक्रम बढ्दा दण्डहिनता र भ्रष्टाचारले सीमा नाघेको औंल्याए ।
्रपूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रवाद भनेको भूगोल मात्र नभइ भाषा, धर्म, संस्कृति, रितीरिवाजले अंगालेको समग्र भावना भएकाले राष्ट्रवाद र राष्ट्रप्रेमको परिभाषालाई संकुचित गर्न नहुने बताए । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले देश र परिवेश अनुसार राष्ट्रवादको परिभाषा फरक हुने औंल्याए ।
राजनीतिक विश्लेषक लालबाबु यादवले नेपालमा राष्ट्रवादको खडेरी चलिरहेको, देशमा क्षेत्रीयता र जातियताको बहस चलिरहेको परिप्रेक्ष्यमा राष्ट्रवादको बहस जायज भएको बताए ।
पुस्तकका लेखक युवा नेता लाओस राईले पुस्तक प्रकाशन गरेर आफूले राष्ट्रव्यापी रुपमा राष्ट्रवादको बहस अभियान शुरु गरेको बताए ।
पुस्तकका सम्पादक युवराज गौतमले राजनीतिलाई समाजसेवा ठान्ने नेताहरुले राष्ट्रवादलाई संकुचित अर्थमा सोच्न नहुने बताए ।
कार्यक्रममा पूर्व सांसद हिरा गुरुङ, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेपाली कांग्रेस ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, युवा नेता सानुबाबु महर्जन, बद्री अर्याल लगायतले मन्तब्य राखेका थिए ।
२३६ पेजमा समेटिएको पुस्तकमा राष्ट्रवाद र राष्ट्रप्रेमको विकासक्रम, विश्वमा भएका आन्दोलन, नेपालमा शाह बंशीय राष्ट्रवाद, २००७ साल पछिको विकसित राष्ट्रवाद, वीपी कोइरालाको राष्ट्रवादी चिन्तन साथै पछिल्लो राजनीति परिदृश्यमा देखिएको राष्ट्रवाद र राष्ट्रप्रेमको प्रसंग उल्लेख छ ।
साथै पुस्तकमा किरात संस्कृतिमा रहेको सायरेम्मा संस्कारलाई राष्ट्रवादसँग जोडिएको छ ।
Share on Twitter