बालबालिकालाई स्वर्णप्रासन खुवाइँदै
काठमाडौं । बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।
पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइनेछ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा। श्यामबाबु यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।
यसका लागि विभागले करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानी तहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य संस्थालाई न्यूनतम ३ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।
डा.श्यामबाबु यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।
‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पुर्याउँछ,’ उनले भने ।
हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ ।
नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा.यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।
डा। यादव भन्छन्, ‘स्वर्णप्रासनको प्रयोगले हजारौँ वर्ष पुरानो आयुर्वेदिक परम्परालाई निरन्तरता दिँदै बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।’
यो परम्परागत औषधिलाई अब व्यवस्थित र आधिकारिक रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरिएको उनले बताए ।
के हो स्वर्णविन्दु प्रासन ?
आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपा स्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्रासन भनिन्छ ।
यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो ।
निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवर्द्धनलाई पनि जोडिएको छ ।
Share on Twitter