उमेरले साथ छाड्दै गए पनि आरनले छोडेन

ओखलढुंगा:आँगनभरि उछिट्टिएका अविच्छिन्न फलामका टुक्राहरू । रातो आगोको रापमा ओखलढुंगा मानेभञ्ज्याङ्गका ६१ बर्सिया कुलबहादुर बिक बन्चरो तताउँदै छन् ।
खलाती चलाएर आरनमा घरेलु औजार बनाउने कुलबहादुरको पुर्ख्यौली पेसा हो । केटाकेटी उमेरदेखि बाउ बाजेलाई सघाउँदै आएको यो पेसा अहिले पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । कुलबहादुरले भने, ‘यही काम सिके, यसबाटै जीवन धानिरहेको छु, अब जीवन यसमै बित्छ होला ।’
घर छेउमा जोडिएको सानो झुपडीमा उनको आरन छ । एक हातले फलामको कराँतिले फलाम नै समात्यो अनि एक हातले पिटिरह्यो दिनभर । यसरी नै उनको दैनिकी चलेको छ । चार दशकयता आरन चलाउँदै आएका कुलबहादुरले अहिले पनि यो काम छोडेका छैनन् । उनी अहिले पनि हरेक दिन काठको आगो सल्काउँछन् । उपकरणको सहायताले हावा दिएर कोइला पार्छन् ।
त्यही आगोमा फलाम तताउँदै, पिट्दै कुटो, कोदालो, हँसिया, बन्चरोलगायत औजार बनाउँछन् । कुलबहादुर भन्छन्, ‘मैले थाहा पाएदेखि नै यो काम चलिरहेको छ । यही आरनमा जुनी बित्ने त होला ।अब त कति नै पो बाँचिएला र ?’दुःखको कुरा छ के छ भने उनको यो श्रमको मूल्य भने छैन ।
‘आरनको काम सुरु गर्दा बाली प्रथा थियो, अहिले पनि त्यही छ,’ उनी भन्छन्, ‘पैसा हातमा आउनासाथ मासिन्छ, पहिले जस्तो घरघरमा गएर बाली उठाउनुपनि पर्दैन ।’मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ। ‘आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदै छ ,’ उनले भने।
जसले फलाम दिन्छ, उसैले भनेको जस्तै औजार उनी बनाउँछन् । कतिपय औजार उनी आफैँ पनि बनाएर पनि बेच्छन् । सबै औजारको फरक–फरक दररेट छ । आरन पेसाबाट कमाएको रकमले उनी घर खर्च चलाउँछन् । उनका अनुसार आरन पेसा दैनिक छाक टार्ने माध्यम बनेको छ ।
‘सुरु सुरुमा यो पेसा ठिकै लाग्थ्यो । तर, अब उमेर ढल्किँदै गयो । काम गर्ने आँट र जाँगर दुवै कम हुँदै गयो,’ उनले भने, ‘अन्य कुनै सीप छैन, यही काम नगरेर पनि के गर्नु ? कसरी जीवन धान्नु ?’ उमेरले साथ छाड्दै गए पनि आरनले नछोडेको उनले बताए ।