प्रोटिन रन : करिब ८ हजार धावक एकै पटक दौडँदै

काठमाडौं:नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन रन’ प्रतियोगिताको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज काठमाडौंमा पत्रकारसम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक डा सितलकाजी श्रेष्ठले जानकारी दिए । चैत्र १० गते बिहान साढे ६ बजे प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले दशरथ रंगशालामा प्रतियोगिताको उद्धाटन गर्ने डा श्रेष्ठले बताए ।
प्रतियोगितामा विभिन्न विधाका करिब ८ हजार प्रतियोगी सहभागी हुने उनको भनाई छ । प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर (पुरुष) र ३ किलोमिटर (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठवटा विधाका दौडहरु समावेश गरिएका छन्। जम्मा पुरस्कार राशी करसहित १४ लाख १२ हजार पाँच सय रूपैयाँ रहेको छ । पाचौँ स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ।
आफूले भाग लिएको विधामा दौड पूरा गर्ने सबै प्रतियोगीलाई मेडल पाउनेछन् ।विहीबारसम्म ७ हजार सात सय ८७ जना धावकले दौडकालागि नाम दर्ता गराएको जनाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्कने र प्राविधिक संयोजन एथलेटिक्स संघले गर्ने सचिव आरके विष्टले बताए । आजको पत्रकार सम्मेलनमा दौडको जर्सी समेत सार्वजनिक गरिएको छ ।
नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा नागरिकको ठूलो हिस्सा सन्तुलित आहाराबाट बन्चित रहने गरेको तथ्याङ रहेको छ । प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दूध, माछा, मासु, अण्डा, गेडागुडी आदिको हिस्सा कम हुँदा नेपालमा लाखौं मानिसहरु कुपोषण ग्रसित छन् भने ५ वर्ष मुनिका ३८.८% पुड्को,, २७% कम तौल र ११% बालबालिकाहरु ख्याउटे हुने समस्याबाट ग्रसित छन् ।
गरिबी, कमजोर आर्थिक अवस्था र विकट भूगोलका कारण सहज उपलब्धताको कमीका साथै जनचेतनाको कमी यसका मुख्य कारणहरु हुन् । त्यसलाई मध्यनजर गर्दै भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार को मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनलगातका विभिन्न दौड प्रतियोगिता आयोजना गरेको संयोजक श्रेष्ठले बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) संरक्षक रहेको प्रतियोगितालाई नेपाल दाना संघ र पशु सेवा विभागले सहयोग गरेका छन् । नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोग रहने प्रतियोगितासँग प्रिमेरा हस्पिटल, इ-सेवा आइएसएस, मेरियट होटेल, ‘फायरफिल्ड बाइ मेरियट’, केबी एग्रो पार्टनरका रूपमा जोडिएका छन् ।