योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, बैशाख ३१ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।
राजधानीको सोल्टी होटलमा आयोजना गरिएको नेपाल स्वास्थ्य सम्मेलन दोश्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसैको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ । उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।
आफु गृहमन्त्री रहँदा मातहतका सबै निकायलाई योग र ध्यानको शिविर राखेको प्रसंग सम्झिँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले परराष्ट्र मन्त्रालयका निकायमा र विदेशी नियोगमा समेत कार्यपूर्व दैनिक योग र ध्यान गराउन लागिएको प्रसंग सुनाउनुभयो ।
योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्धन गर्ने भन्दै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्याउन नहुनेमा जोड दिनुभयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले स्वास्थ्य सेवाका विविध पक्षमा बहसको आवश्यक्ता रहेको बताउनुभयो । नेपालमा हालसम्म आउँदा जनताको स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको भन्दै अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गने बेला आएको बताउनुभयो ।
स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमा माथि विज्ञहरुका बीचमा छलफल हुँदैछ । यो सम्मेलनको दोश्रो संस्करण हो । ।