नेप्से सय अंक भन्दा धेरैले बढ्यो

काठमाडौं: मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय १३ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ । नेप्से आज झन्डै २९ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि २०७८ साल फागुन ११ गते शेयर बजार २७ सय विन्दुमाथि पुगेको थियो । आज बैंकिङ समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज चार करोड तीन लाख कित्ता शेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज शेयर बजारमा दुई पटक ’सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको थियो । बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।