मोरङको पथरी शनिश्चरेमा काजु खेती तर्फ किसानको आकर्षण
काठमाडौं : मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजुदेखि ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ ।
आजभोलि मोरङको पथरी शनिश्चरे ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् ।
उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको झैँ छ । करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषिकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ । तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाएका छन् ।
पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुशी भएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालिसके ।
पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गरे । तिनै बिरुवावाट अहिले उत्पादन सुरू हुन थालेको छ ।
सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल वार्षिक ५ सयभन्दा बढी बिरुवा उत्पादन गर्दै आउनुभएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आएका छन् ।
बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ ।
वर पिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजीसम्म फल्ने पोख्रेलले आशा लिएका छन् । पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । व्यावसायिक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताउँछन् ।
नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताइन् ।
नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो ।
Share on Twitter