विद्या भण्डारीको कार्यक्रममा नजान एमालेको उर्दी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भेटघाट कार्यक्रममा नजान एमाले विराटनगर कमिटीले सूचना जारी गरेको छ ।
नगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत पार्टी कार्यालयमा एमालेको कुनै पनि कार्यक्रम नभएकाले सहभागी नहुन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एमालेको केन्द्र, प्रदेश वा जिल्ला तहबाट कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन ।’
पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर गएकी छिन् । स्थानीय उद्घोष पत्रिकाको वार्षिक उत्सवमा पुगेकी भण्डारीले आज एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने भनेर सूचना सार्वजनिक भएको छ । तिनै सूचनालाई गलत भन्दै संस्थापननिकट बस्नेतले सामाजिक सञ्जालमार्फत खबर फैलाएका हुन् ।
भण्डारीनिकट विनोद ढकाल विराटनगर निवासी हुन् । विराटनगर महानगर कमिटी र मोरङ जिल्ला कमिटीमा ढकालको वर्चस्व छ । उनी प्रदेश कमिटी अध्यक्षमा भने घनश्याम खतिवडासँग पराजित भएका थिए ।
यसअघि पनि भण्डारीको कोशीको भ्रमण उनै ढकालले मिलाएका हुन् । ६ साउनमा एमालेले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेसँगै कार्यकर्ताहरू पक्ष, विपक्षमा विभाजन भएका छन् । सोमबारसमेत विराटनगरमा एमालेका प्रदेश सांसददेखि प्रभावशाली नेता–कार्यकर्ताहरू नै भण्डारीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
Share on Twitter