सुरु भयो औषधिजन्य जडीबुटी मेला
काठमाडौं:काठमाडौंमा एक दिने औषधिजन्य जडीबुटी मेला सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मेला लागेको छ ।
“जलवायु परिवर्तन तथा स्वास्थ्यका लागि जडिबुटी“ भन्ने नारा सहित बिहान ८ बजेबाट सुरु भएको मेलाको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले उद्धाटन गरेका हुन् । चिकित्सालयले जडीबुटीहरूको पहिचान र उपयोग वृद्धि गर्ने उद्देश्यका साथ यो मेला आयोजना गरेको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंकि प्रमुख डा पुनम नेपालले मेलामा जडीबुटीहरूको पहिचान र उपयोग तथा रैथाने एवं लोपोन्मुख बहुमूल्य जडीबुटीहरू सम्बन्धी जानकारी दिइने बताइन्। त्यसैगरी मेलामा स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी समेत लिन सकिने छ।
त्यस्तै मेलासँगै सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरूको दिगो संरक्षण सम्बन्धी प्राविधिक सत्रहरू समेत सञ्चालन गरिने उनले बताइन् । मेला दिउँसो ३ बजेसम्म चल्नेछ । मेला प्रवेशमा कुनै शुल्क नलाग्ने बताईएको छ ।