मातृभूमिमा पसिना बगाउँदै शेरबहादुर
कावासोती : बिस वर्षको विदेश बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कावासोती नगरपालिका २ का शेरबहादुर ठाडा स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । २००२ देखि वैदेशिक रोजगारीमा हिँडेका उनी २०२० देखि नेपालमै कृषि गरिरहेका छन् ।
विदेश जान मन नलागेपछि उनी अहिले परिवार सँगै व्यावसायिक कृषि गरिरहेका छन् । उनले सासू बुहारी एकीकृत कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर काम गरिरहेका छन् । उनले गोलभेँडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन् ।

विभिन्न सङ्घसंस्थाको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको ठाडाले बताए ।उनले भने ‘ कृषि त हाम्रो पुर्ख्यौली पेसा हो तर हामीले परम्परागत तरिकाले खेती गर्थ्यौ भने अहिले हाम्रो काम गर्ने तौर तरिका सुधारेर व्यावसायिक रूपमा नै खेती सुरु गरेका छौँ । परम्परागत खेती गर्दा मेहनत बढी उत्पादन कम थियो जसका कारण आफ्नै परिवार पाल्न समेत धौ धौ थियो तर अहिले उही जमिनमा आधुनिक प्रविधिमा आधारित भएर खेती गर्दा आम्दानी समेत गर्न सफल भएका छौँ ।’
अहिले तरकारी बेचेर आएको रकम बचत समेत गर्न थालेको उनले बताए । करिब ६ कट्ठा जमिनमा तरकारी खेती लगाइएको उनले जानकारी दिए । तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको थाडाले बताए। ‘स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ’, उनले भने।माल्दीभ्स मा १ लाख ५० हजार रुपैयाँ मासिक छोडेर नेपाल आएका ठाडाले अहिले वार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गरिरहेका छन् । खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उहाँले योजना सुनाए।

उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उनको भनाइ छ । उनले विषादी रहित उत्पादनमा आफूले जोड दिएको बताए ।‘अहिले मौसमी तरकारी मात्र उत्पादन गरिरहेका छौँ तर अव बिस्तारै बेमौसमी तरकारी उत्पादन गर्ने योजना छ । बेमौसमी तरकारी उत्पादनलाई विषादी रहित बनाउन अहिले तालिम पनि लिएको छु । सकेसम्म प्राङ्गारिक खेती गर्ने मेरो उद्देश्य हो ।’
सरकारले युवाहरूलाई कृषिमा प्रेरित गरे स्वदेशमै रोजगारीको सिर्जना हुनेमा उनले विश्वास व्यक्त गरे । सरकारको बजेट अनुदान यान्त्रीकरणमा मात्र नभएर बजार व्यवस्थापन र भण्डारणमा पनि आवश्यक भएको उनले सुनाए । शेरबहादुरले तरकारी खेती सँगै भैँसी र बाख्रा पनि पालेका छन् । उनको यो कर्ममा उनकी श्रीमती श्यामकुमारी ठाडा बलियो खम्बा बनेर उभिएकी छन् ।

दुई छोरालाई पढाउन र खर्च चलाउन श्रीमान् श्रीमती मिलेर काम गर्छन् । यता शेरबहादुरकी आमा भविसरा ठाडा र बुवा धनबहादुर ठाडा पनि छोरा बुहारीसङै काममा हातेमाले गर्न भ्याउँछन् । भविसरा ठाडा भन्छिन्‘ बिसौँ वर्ष विदेश भएको छोरा अहिले हाम्रो काखमा छ छोरा संगैँ हुँदा धेरै खुसी छु । दुखविमार हुँदा पनि छोरा छ भन्ने आधार छ । अनि सबै परिवार सँगै भए बुढेसकालमा केही नचाहिने रहेछ ।
हाम्रो खुसी त छोराछोरी हुने रहेछन् उनीहरूलाई आँखै अगाडी राख्न पाउँदा खुसी छु उनीहरूको काममा हामी बूढाबूढीले पनि सकेको सहयोग गरिरहेका छौँ । ’घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको ठाडा बताउँछन् । अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको उनले सुनाए ।
Share on Twitter