विदेशमा रहेका नेपाली श्रमिकहरुलाई आँखा उपचार सेवा प्रदान गर्दै नेपाल नेत्रज्योति संघ
काठमाडौं:नेपाल नेत्रज्योति संघले विदेशमा रहेका नेपाली श्रमिकहरुलाई पनि आँखा उपचार सेवा प्रदान गर्ने भएको छ । ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज (मंगलवार) पत्रकार सम्मेलन गरी विदेशमा रेहका नेपाली श्रमिकहरुलाई उनीहरुकै कार्यक्षेत्रमा पुगेर उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिएको छ ।
यसबिषयमा संघले विभिन्न देशमा रहेका राजदुतावाससंग सहकार्यकालागि छलफल गरिरहेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । विदेशमा पुगेर सेवा प्रदान गर्दा नेपालको आँखा उपचार सेवाबाबरे विदेशमा पनि प्रचार हुनेमा संघले विश्वास लिएको चन्दको भनाइ छ । यस्तै विश्वभर छरिएका नेपालीहरुलाई नेपालको आँखा उपचार सेवामा आवद्ध गराउन हङ्कङ र बेलायतमा सहयोग समिति समेत गठन भइसकेको बताइएको छ ।
संघले आँखा उपचार सेवालाई विस्तार गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तब्यका रुपमा विकास गर्नेगरी कार्यक्रम बनाएको चन्दले जानकारी दिए । अहिले मित्रराष्ट्र भारत, बंगलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको बताइएको छ । चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित ४ करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल भएको बताए ।
संघका अध्यक्ष प्राडा चेतराज पन्तले पहुँच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने बताए । अध्यक्ष पन्तले भने, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्छु।”
संघले सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख ६ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । नेपालमा ४५ वर्षअघि ५ जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् ।
Share on Twitter