मनकारी डाक्टर चालिसे : आफूले पाएको पुरस्कार रकम गरिब बिरामीलाई
काठमाडौं :शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यस वर्षको सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट डा.विमल शर्मा चालिसेलाई सम्मान गरेको छ ।
आज भएको ९० औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार रकम सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
११औँ तहका चालिसले ३४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । पुरस्कार कालागि योग्य देखेकोमा अस्पताल व्यवस्थापनलाई डा चालिसेले धन्यवाद दिएका छन् । साथै उनले प्राप्त गरेको रकम सोही अस्पतालमा सेवा लिन पुग्ने बिरामीहरूका लागि प्रयोग गर्ने घोषणा गरेका छन् ।
उपचारका लागि आएका बिरामीमध्ये रकम अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि खर्च गर्न भन्दै उनले पुरस्कार रकम अस्पताललाई हस्तान्तरण गरेका छन् । चालिसेलाई पुरस्कारमा कति रकम दिइएको थियो भन्नेबारे केही खुलाइएको छैन । वि.सं.१९९० मा कोलेरा अस्पताल स्थापना भएको यो अस्पताल वि.सं.२०१९ सालमा सरुवा रोग युनिट नामाकरण गरी वीर अस्पताल अन्तर्गत राखिएको थियो।
वि.सं.२०३४ सालमा कुष्ठरोग र एन्टिरेबिज क्लिनिक थप गरिएको थियो। २०५३ साल माघ ११ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण गरी १०० शैय्याको अस्पताल सञ्चालनमा आएको हो।
साथै वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य सेवा २५ वर्ष र सो भन्दा बढी सेवा गरेका अस्पतालमा कार्यरत कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो।
सम्मान पाउनेमा देवी पौडेल, मिराकुमारी निरौला, मिरादेवी श्रेष्ठ, गोकुल भण्डारी, प्रभात भण्डारी, संगीता केसी, जनक अधिकारी, उषा देवकोटा लगायत रहेका छन् । यस्तै अस्पतालबाट सेवा निवृत्त भएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो।
Share on Twitter