बिहे खर्च कटाएर विद्यालयमा छात्रवृत्ति
काठमाडौं:पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ । भोजमात्र होइन गरगहना र तडकभडक पनि बढ्दै गएको पाइन्छ । आफ्नै संस्कृति भन्दा पनि विदेशी संस्कृति भित्राएर विवाहलाई महोत्सव जस्तो बनाउने प्रचलन पनि हाम्रै समाजमा छ ।
गहना र विवाहको खर्चलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन्। तर पत्रकार लक्ष्मी पौडेल र माओवादी केन्द्रका युवा नेता तथा लेखक नारायण नेपालको विवाहले सबैलाई आश्चर्यमा पारेको छ । मंसिर १८ गते नुवाकोटको बेलकोटगढी नगरपालिका ६ देउराली, झिल्टुङका नेपाल बेहुली लिन नवलपरासी पश्चिमको सुनवल नगरपालिका १ सोमनाथ पुगे । न त कुनै बाजा न त जन्तीको लस्कर छ न कुनै तामझाम । कसैलाई पनि बिहेजस्तो लागेकै थिएन ।
न दुलहा सजिसजाउ थिए । सामान्य अवस्थामा जस्तै दुईचार जना आफन्ती लिएर पुगेका थिए नेपाल । यता बेहुलीतिर पनि न कुनै मन्डप थियो न त बिहे घर सजाइएको थियो । त्यहाँ पुग्ने कसैले पनि बिहेको अनुमान गर्न सक्ने कुरै थिएन । न त भोज भतेर न कुनै गरगहना सामान्य र सरल विवाह देख्दा गाउँ नै आश्चर्यमा पर्यो ।
दुवै तर्फका हुनुपर्ने प्रायः सबै नातेदार थिए । सबै नातागोता र आफन्तको बिचमा पौडेल र नेपालको जोडीले आफ्नो विवाहमा लाग्ने रकम पर्वत र नुवाकोटमा रहेको विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरे । पौडेलले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको जनता आधारभूत विद्यालय विहादी – ३ पर्वतमा र नेपालले आफ्ना बुबा स्वर्गीय ढुन्डिराज नेपालको पहलमा स्थापना भएको मालिका मावि बेलकोटगढी नगरपालिका – ६ देउराली नुवाकोटमा ५०–५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
उनीहरुको कदमको सहभागी सबैले प्रसंसा गरेका छन् । आफैंले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताइन् । यता नेपालले देशको अर्थतन्त्र नकारात्म हुँदा युवाहरु सचेत हुनुपर्ने बताए ।
उनले भने ‘अर्थतन्त्र ओलालो लाग्यो पनि भन्ने उनि अनुत्पादक क्षेत्रमा खर्च गर्नपनि नछोड्ने , यसले हाम्रो अवस्था सुधार हुँदैन त्यसैले हामीजस्तो युवाहरुले खर्च कटौती गर्न आवश्यक छ सबैले आफ्नो ठाँउबाट सोच्ने हो हामीले हाम्रो ठाँउबाट सोच्यौँ’ ।
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले नारायण र लक्ष्मीको जोडीले साहसिक कदम लिएको बताएका छन् । अहिले सामाजिक र सांस्कृतिक रूपले विकृत मात्रै होइन अनुत्पादक खर्चको बोझले सामान्य नागरिकले आफ्नो परम्परागत रीतिरिवाज समेत धान्न नसक्ने अवस्थाको सिर्जना भइरहेको यो साहसिक कदम सबैको लागि अनुकरणीय रहेको उल्लेख गरेका छन् ।
यस्तै वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल परिवारबाट नै समाज सुधारको सुरुवात भएको देख्दा गौरवान्वित भएको बताए । झिल्टुङ जस्तो ठाँबाट प्रगतिशिल युवा जन्मनु समाजकै लागि उदाहरण भएको बताए । एक सचेत युवाले आजको जमानामा भड्किलो विवाह गरेर रुपैयाँ दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि उक्त रकम शिक्षा क्षेत्रमा सहयोग गरेको नारायण नेपालको भनाइ छ।
Share on Twitter