नेकपा एमाले अत्तालियो : कृष्ण पोखरेल
काठमाडौं : राजनीतिक विश्लेषक कृष्ण पोखरेल नेकपा एमाले अत्तालिएको बताउँछन् ।
बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ र विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेकै दिन प्रदर्शन गरेर एमालेले ठीक नगरेको उनको बुझाइ छ ।
‘एमाले र दुर्गा प्रसाईं समूहले कल्ले कल्लाई गलाउने भन्ने किसिमले आन्दोलन गर्न खोजे । यो ठीक होइन,’ पोखरेलले भने ।
एमालेले गरेको प्रदर्शनलाई उनी सरकार बाहिर रहनुपर्दाको पीडाको संज्ञा दिन्छन् । ‘संघीय संसदको दोस्रो ठूलो दल सडक प्रदर्शनमा जाँदा कांग्रेस र माओवादी केन्द्रलगायतका दलको भूमिका केही हुन्छ कि,’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘एमालेको पीडा सरकार बाहिर बस्नु परेको पीडा हो । सरकार रहन नपाउनुको पीडा पोख्ने विरुद्ध सत्तारुढले मौन रुपमै आफ्नो भूमिका खेल्ने हो ।’
विश्वमा आर्थिक उर्पाजनका दुइटा पाटा रहेको र एउटा पाटो विकासउन्मुख देशमा अशान्ति र द्वन्द्व मच्चाएर एकाधिकार काम गर्ने रहेको बताउँछन् । यही शक्तिले नेपाल जस्ता देशमा अस्थिरता र अशान्तिका लागि भूमिका खेलिरहेको उनको टिप्पणी छ । ‘दुईटा पाटामध्ये एउटा पक्ष जहिले पनि तेस्रो विश्वमा अस्थिरता भइरहोस्, द्वन्द्व भइरहोस भन्ने चाहन्छ र त्यस खालका व्यवहारमा मलजल गर्छ । नेपालमा अहिले देखिएको दृश्य पनि त्यसकै बिम्ब हो ।’
अशान्ति र अस्थिरतामा शक्तिशाली देशले एकाधिकार काम गर्न सकेको र त्यसको निरन्तरता चाहँदा गरिब देशहरु, विकासउन्मुख देशहरुले अपेक्षित गति लिन नसकिरहेको विश्व यथार्थ रहेको पनि माओवादी केन्द्रका महासचिव गुरुङको बुझाइ छ ।
‘आफूलाई पहिलो विश्व भन्छन् र तेस्रो विश्वमा अस्थिरता भइरहोस् भन्छन् । जसमार्फत वित्तीय एकाधिकार कायम राख्न सकियोस् । त्यसका हामी भित्रका साना साना इन्ट्रेस्टमा खेल्छन्’ उनी थप्छन्, ‘अस्थिरताका लागि जे पनि भन्छन्, व्यवस्था देखाउँछन् । राजतन्त्र हुँदा गणतन्त्र चाहियो, गणतन्त्र आएपछि राजतन्त्र चाहियो, व्यवस्था ठीक भएन भन्यो नारा लगायो ।’
नेपालमा राजतन्त्र फर्किन्छ भनेर कल्पना पनि गर्न नसकिने र यो असम्भव रहेको उनको भनाइ छ । उनी प्रश्न गर्छन, ‘कुनै वंशको दास हुन हृदयले कोही चाहन्छ होला त ? ’
प्रसाईं समूहले राखेको जनताको वितृष्णाको अवस्थाको चित्रणलाई सरकारले मनन गर्नुपर्ने उनको भनाइ छ । तर, राजसंस्था फर्किने जस्तो कल्पना नर्गन उनको सुझाव छ । ‘काठमाडौंमा जुन पश्चगामी नारा प्रतिगामी नारा लाग्यो । यो स्थापित होला भन्ने कल्पना पनि गर्न सकिंदैन् र असम्भव छ,’ उनी थप्छन्, ‘यो असम्भव चिजका पछि पनि केही मान्छे लागेका छन् भने त्यो युद्धको बाटो रोज्न खोजेको हो । यसका अदृश्य शक्ति लागेका छन् ।