युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेकाे आग्रह
काठमाडौं: नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको बताए । गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न समेत आग्रह गरेका हुन् ।
उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’ बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आव्हान गरे ।
त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् ।
गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याला लामा लगायतले स्वागत गरे ।
Share on Twitter